बंगलादेशले नेपालको बिजुली किन्न भारतसँग ‘भिजिबल’ सहयोगको प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । पुस २२, बंगलादेशले नेपालबाट जलविद्युत आयात गर्न भारतसँग निर्णायक भूमिका निर्वाह गरिदिन आग्रह गरेको छ ।

बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपाल र भुटानबाट जलविद्युतको आयात गर्न चाहेको भन्दै ‘देखिने गरी सहयोग गर्न’ भारत सरकारसँग प्रस्ताव गरको छन् ।

बुधबार नयाँदिल्लीमा भारत र बंगलादेशबीच विद्युत सहयोगसम्बन्धी द्विपक्षीय बैठकमा सहभागी भएका हमिदले ‘भिजिबल’ सहयोगका लागि आग्रह गरेका हुन् ।

बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व हमिदले भारतीय पक्षको नेतृत्व ऊर्जा तथा नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहलाई नेपालबाट बंगलादेशमा बिजुली ल्याउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

गत ९ भदौमा काठमाडौंमा भएको नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकमा नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका थिए ।

बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति गरेका थिए । त्यसअनुसार दुबै देशले भारतसँग सम्वाद अघि बढाएका छन् ।

भारत सरकारले प्रसारणलाइन प्रयोगको अनुमति दिएमा एनभीभीएनमार्फत विद्युत व्यापार सुरु गरिहाल्ने नेपाल र बंगलादेशको योजना छ, ।

भारतले आफ्नो नोडल एजेन्सीमार्फत भारत हुँदै दुई देशबीच आफ्ना पूर्वाधार प्रयोग गरेर बिजुली व्यापारको अनुमति दिन सक्छ । तर, अहिलेसम्म भारतले यसमा सहमति जनाएको छैन । जसका कारण नेपाल र बंगादेशले विद्युत व्यापार थाल्न सकेका छैनन् ।

 

प्रकाशित : 6 January, 2023

प्रतिक्रिया दिनुहोस्