नेपाल टी–ट्वान्टी आज अन्तिम दुई खेल हुँदै

सहयात्रा टिभी

काठमाडौं । पुस २३, काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा शनिबार समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । आजको दुई खेलबाट नै यस लिगको प्लेअफ पुग्ने बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

शनिबारको पहिलो खेलमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । दुवै टोली जितका साथ प्लेअफमा स्थान सुरक्षित बनाउन चाहान्छन् । यही संस्करणको पहिलो भेटमा काठमाडौंले विराटनगरलाई ३४ रनले हराएको थियो ।

शनिबार नै हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेडबीच खेल हुँदैछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । प्रतियोगिताबाट बाहिरिसकेको फार वेस्ट अन्तिम खेलमा सुखद नतिजा निकाल्ने दाउमा रहेको छ । पोखरा भने जित निकाल्दै प्लेअफमा पुग्ने योजनामा छ ।

यदि यस खेलमा फार वेस्ट विजयी भए पोखराको यात्रा समाप्त हुन्छ । यही संस्करणको पहिलो भेटमा पोखराले फार वेस्टलाई ३ विकेटले हराएको थियो । लुम्बिनी अल स्टार र जनकपुर रोयल्सले भने यस अघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।

प्रकाशित : 7 January, 2023

प्रतिक्रिया दिनुहोस्