गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडानका लागि डेमो उडान
काठमाडौं । पुस २४, गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको जहाज अवतरण भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शनी (डेमो) उडान गरेको छ ।
आइतबार बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ः०० बजे अवतरण भएको छ ।
उक्त वायुयानलाई तारा एअरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जीव श्रेष्ठले उडाएका थिए ।तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी सवार थिए ।
रेसुङ्गा विमानस्थलमा एक झण्डै १ घण्टा रहने छ । त्यसपछि पुनः काठमाडौं फिर्ता हुने छ । प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार डेमो उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिने छ ।
नियमित उडानका लागि भने कम्तिमा २ देखी ३ साता लाग्नेछ । यो विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो ।