प्रधानमन्त्रीको निर्देशनमा इन्धनको मूल्य घट्यो
कठमाडाै । पुस २५, नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आइतबार निगमले इन्धनको मूल्य घटाएको हो । गत बिहीबार प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रलियम पदार्थ र हवाई इन्धन दुवैमा मूल्य घटाएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मटीतेलमा ३/३ रुपैयाँ घटाएको छ भने आन्तरिक हवाई इन्धनमा २० र बाह्य हवाई इन्धनमा ३० रुपैयाँ घटाएको छ । यसअनुसार अब उपभोक्ताले प्रतिलिटर पेट्रोल १७५ रुपैयाँ, डिजेल १७२ रुपैयाँ र मटीतेल १७२ रुपैयाँमा खरिद गर्नु पर्नेछ ।
यस्तै, हवाई इन्धन आन्तरिक प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने बाह्य हवाई इन्धन प्रतिलिटर १.४२० अमेरिकी डलर तिर्नुपर्ने भएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले प्रधानमन्त्रीको निर्देशन निगमलाई आइतबार आइपुगेको जानकारी दिँदै निगम सञ्चालक समितिको निर्णयले मूल्य घटाइएको बताए । उनले इण्डियन आयल कर्पाेरसन र सरकार गरी १८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको हुँदा भाउ घटाउँदा आर्थिक भार बढ्ने जानकारी दिए ।
निगमका अनुसार आईओसीले १ जनवरीमा पठाएको पेट्रोलियम पदार्थको मूल्य सूचीअनुसार मासिक रूपमा १ अर्ब ९८ करोड रुपैयाँ नाफा थियो । अहिले मूल्य घटाउँदा मासिक नाफा अझै करिब १ अर्ब हुनेछ । मूल्य घटेपछि निगमलाई प्रतिलिटर पेट्रोलमा ११ रुपैयाँ नाफा हुनेछ भने डिजेलमा ४ रुपैयाँ । यस्तै, आन्तरिक हवाई इन्धनमा यसअघि ४८ रुपैयाँ नाफा थियो भने अब २८ रुपैयाँ नाफा हुनेछ । यस्तै, बाह्य हवाई इन्धनमा ३० रुपैयाँ घटाउँदा ४० रुपैयाँ नाफा हुनेछ ।
खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको निगमले जनाएको छ । इण्डियन आयल कर्पाेरेसनले १ जनवरीमा पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिसिलिण्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको थियो । १५ दिनमा ग्यासमा ४६ करोड ४४ लाख घाटा व्यहोर्नुपर्ने निगमको भनाइ छ । पछिल्लो पटक आईओसीले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा बढेर थियो ।