कर्णालीको मुख्यमन्त्री बन्दै राजकुमार शर्मा

सुर्खेत । पुस २५, सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले कर्णालीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै राजकुमार शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको छ।
१३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि कर्णाली सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो। पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो। शर्मा गत मंसिर ४ गत सम्पन्न प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिम (१) बाट निर्वाचित भएका हुन्।
मुख्यमन्त्रीका लागि चर्चा बटुलेका एमालेका यामलाल कँडेल यो पटक पनि किनारा लागेका छन्। प्रदेशको अघिल्लो कार्यकालमै मुख्यमन्त्री बन्ने चर्चामा रहेका कँडेल यसपटक मुख्यमन्त्री बन्नेमा ढुक्क थिए। तर सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकको सहमतिपछि उनी यो पटक पनि पछि परेका हुन्
मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ। एमालेको कर्णाली प्रदेश सभामा १० सिट छ। सरकार बनाउनका लागि २१ सिट भए पुग्छ। प्रदेश प्रमुख तिलक परियारले बुधबार बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न समय दिएका छन्।
प्रदेशसभाको दोस्रो बैठक, समामुख र उपसभामुख चयनको मिति तोकिने
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। जेष्ठ सदस्य विनोद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो।
बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले भने, ‘सभामुख र उपसभामुख चयनको मिति तोक्ने बाहेक अन्य खासै एजेण्डा छैनन्।’