आज मन्त्रिपरिषद्ले पूर्णता पाउने : नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो १ बजे

काठमाडौं । माघ ३, प्रधानमन्त्री तथा नेकपा (माओवादीक केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । आज (मंगलबार) मन्त्रिपरिषद्ले पूर्णता पाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
हिजो (सोमबार) राति अबेरसम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको छ ।
लामिछनाले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ ।
‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । भोलि एक बजे अघि टुंग्याउँछौ । केही परिवर्तन भएछ भने सल्लाहमा हुन सक्ला’, मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताए ।
जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरूको माग सम्बोधन गर्नेबारे दलहरूबीच सहमति जुट्न सकेको छैन ।