नेपाली कांग्रेसले सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी

सहयात्रा टिभी

काठमाडौं । माघ ३, नेपाली कांग्रेसलेसर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठकमा गएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा आफ्ना सभापति शेरबहादुर देउवा नै हुनु पर्ने दाबी गरेको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखको विषयमा समेत छलफल भएको नेता लेखकले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले यी संवैधानिक पदहरुमा सहमति गर्न सकिने विषय बैठकमा राखेका थिए ।

कांग्रेसले सरकारलाई समर्थन गरेको भन्दै नेपाल मजदुर किसान पार्टीले प्रमुख विपक्षी दलको मान्यता आफूले पाउनु पर्ने दाबी गरेको छ । नेमकिपाका सांसद प्रेम सुवालले आफूले प्रमुख विपक्षी दलको नेताको मान्यता नपाए सर्वोच्च अदालत जाने चेतावनी समेत दिइसकेका छन् ।

यस्तो स्थितिमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले आफू नै प्रमुख प्रतिपक्षी दलको नेता भएको दाबी प्रस्तुत गरेका हुन् ।नेताहरुको अनुसार देउवाले भनेका छन्, ‘हामी यहाँ प्रमुख प्रतिपक्षी दलको हैसियतमा उपस्थित भएका हौं ।’

 

प्रकाशित : 17 January, 2023

प्रतिक्रिया दिनुहोस्