केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तरीक्षमा घुमिरहेको मूल्यवान् धातुले भरिएको क्षुद्रग्रह

सहयात्रा टिभी

काठमाडौं । माघ ५, अन्तरीक्षमा एउटा यस्तो क्षुद्रग्रह घुमिरहेको छ, जसको मूल्य यति धेरै हुन्छ कि त्यो गणना गर्न पनि गाह्रो पर्छ ।

मूल्यवान् धातुले भरिएको उक्त क्षुद्रग्रहमा रहेको धातुको कुल मूल्य सात सय करोड खर्ब डलर बराबर रहेको मानिन्छ । यो रकम विश्वका मानिसलाई बराबर बाँड्ने हो भने एक जनाको भागमा साढे ८७ करोड डलर अर्थात् १ खर्ब १५ अर्ब रुपैयाँ पर्छ ।

सायद यो समाचार पढिरहँदा तपाईं आफ्नो भागमा एक खर्ब रुपैयाँ पर्ने भयो भनेर मक्ख हुनुहुन्छ होला । तर दुःखको कुरा अमेरिकी अन्तरीक्ष संस्थाले उक्त क्षुद्रग्रहको धातु बेचेर तपाईं हामीलाई रकम बाँड्ने कुनै योजना बनाएको छैन ।

तथापि उक्त क्षुद्रग्रहको अन्वेषण गर्ने योजना भने नासाले अवश्य बनाइरहेको छ । आखिर त्यो बहुमूल्य क्षुद्रग्रह कुन हो र नासाका लागि यो किन विशेष छ ?अनि किन नासाले त्यो क्षुद्रग्रहमा पुग्न यति धेरै मेहनत गरिरहेको छ ?

उक्त क्षुद्रग्रहको नाम १६ साइकी हो । यो क्षुद्रग्रहलाई सन् १८५२ मा इटालीका खगोलशास्त्री एनिबेल डी ग्यास्परिसले पत्ता लगाएका थिए । उक्त क्षुद्रग्रहका विषयमा अझै धेरै खोज अनुसन्धान गर्नका लागि नासाले त्यो क्षुद्रग्रहसम्म पुग्ने योजना बनाइरहेको हो ।

यो क्षुद्रग्रह २२६ किलोमिटर चौडा छ र निकेल तथा सिलिकाबाट बनेको छ । नासाले यो क्षुद्रग्रहसम्म पुग्नका लागि गत अगष्टमा साइकी यान प्रक्षेपण गर्ने योजना बनाएको थियो । तर प्राविधिक समस्याहरुका कारण यान प्रक्षेपण हुन सकेन ।

अन्ततः आगामी १० अक्टोबर २०२३ मा साइकी क्षुद्रग्रहमा उक्त यान प्रक्षेपण गर्ने निर्णय नासाले गरेको छ । उक्त यान सन् २०२९ मा क्षुद्रग्रहको सतहमा पुग्नेछ ।

यो क्षुद्रग्रहको बहुमूल्य स्वरुपलाई ध्यानमा राख्दै अन्तरीक्षमा उत्खनन् गर्ने पूर्वाधार निर्माण गरिरहेका कतिपय कम्पनीहरुले रुचि देखाउन थालेका छन् ।

युरोसन माइनिङ जस्ता कम्पनीहरुले अन्तरीक्ष अर्थतन्त्रतर्फ रुचि लिइरहेका छन् । मर्गन स्टेनलीका अनुसार आज अन्तरीक्ष अर्थतन्त्र ३५ हजार करोड डलरको छ, जुन सन् २०४० सम्म बढेर २।७ ट्रिलियन डलर पुग्नेछ ।

एजेन्सीको सहयोगमा

 

प्रकाशित : 19 January, 2023

प्रतिक्रिया दिनुहोस्