सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा हर्क साम्पाङले चलाए डोजर

सहयात्रा टिभी

काठमाडौं । माघ ८, सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।

आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

धरान ५ मा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।

धरान-५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा एकतले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले बताए ।

उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ । पहिलादेखि नै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानीयले खोलाको भाग सिमांकन गर्नुपर्ने माग राखेका थिए ।

 

 

प्रकाशित : 22 January, 2023

प्रतिक्रिया दिनुहोस्