निकुञ्जको लापरवाहीले गैंडा तस्करहरु बढ्दै खुला ठाउँमा गैंडा मारियो

सहयात्रा टिभी

काठमाडौं । माघ ८, शुक्रबार दिउँसो नारायणी नदीको भंगालोमा गैंडा मरेको खबर सुन्नेबित्तिकै कावासोतीका विष्णु अधिकारी दौडिदै पुगे ।

घटनास्थलमा उनले ह्दयविदारक दृश्य देखे । गैंडाका आमा र छोरा केही मिटरको दूरीमा मृत अवस्थामा थिए । १४ बर्षको पोथी गैंडाको खाग काटिएको थियो । खाग काटेको ठाउँबाट रगत बगिरहेको थियो । खाग नआइसकेको चार बर्षको केटो गैंडा पनि मारिएको थियो ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ नन्दपुर र सेरी गाउँको नजिकै नारायणीको सानो भंगालोको छिपछिपे पानीमा गैंडा मारिएका थिए । घटनाको प्रकृति हेर्दा गैंडा ठाउँको ठाउँ मारेर खाग काटिएको देखिन्थ्यो ।

अधिकारी भन्छन्, ‘मैंले संरक्षणमा लागेको २५ बर्षको अवधिमा यसरी गैंडा मारेको देखेको थिइनँ, करेन्ट लगाए पनि केही पर गएर गैंडा छटपटाएर, खोस्रिएर, घस्रिएर मरेको देखेको थिएँ तर यहाँ त गैंडाले खोस्रिएको वा गाह्रो भएर छटपटाएको कुनै संकेत थिएन, धेरै बेर हेर्न पनि सकिनँ ।’

झण्डै १५÷२० मिटरको जीआई तारमा हाई भोल्टको करेन्ट छाडेर गैंडा मारेको संरक्षणकर्मी अधिकारी बताउँछन् । तर, अचम्मको कुरा के छ भने, घटनास्थल वरपर विद्युतका कुनै पनि पोल र तार छैनन् । तर तस्करहरूले विल्कुलै नयाँ प्रविधि अपनाएर गैंडा मारेको देखिएको अधिकारी बताउँछन् ।

घटनास्थलको झण्डै ३५० मिटर पर नेपाली सेनाको सुरक्षा पोस्ट छ । निकुञ्जको कोर क्षेत्रमा अर्को सहरी पोष्ट छ । निकुञ्जको सुरक्षा नेपाली सेनाको खड्क दलले गर्दै आएको छ ।

सेनाको पोस्ट नजिकै खुला ठाउँमा गैंडालाई हृदय विदारक ढंगले मार्नुमा निकुञ्ज प्रशासनको उदासिनता प्रमुख कारण रहेको संरक्षणकर्मीहरु बताउँछन् । निकुञ्जभित्र गैंडा तस्करहरु सजिलै पसेर गैंडा मार्ने क्रम चलिरहेको यस घटनाले पुष्टि हुने अधिकारी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा १० वटा एक सिङ्गे गैँडा मरेका छन् । तीमध्ये सात वटा प्राकृतिक कारणले र तीन वटा गैंडा चोरी शिकारीले मारेका हुन् ।

निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीले खुला र सहज ठाउँमा गैंडा मारेर खाग काटेर लैजानुले व्यवस्थापकीय कमजोरी भएको देखिने बताए ।

 

प्रकाशित : 22 January, 2023

प्रतिक्रिया दिनुहोस्