विवादास्पद नेपाल टी–२० लिगमा म्याच फिक्सिङकै प्रयास भएको पुष्टि

सहयात्रा टिभी

काठमाडौं । माघ ८, विवादास्पद नेपाल टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको पुष्टि भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २७ पुससम्म भएको लिगको सुरुवाती चरणका केही खेलमा ‘स्पट फिक्सिङ’ भएको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

सीआईबीका निर्देशक उत्तमराज सुवेदी भन्छन्, ‘खेलका निश्चित गतिविधिमा केही नेपाली र भारतीय खेलाडीसँग लेनदेन गरेको अनुसन्धानबाट देखिएको छ ।’

उनका अनुसार सट्टेबाजी (बेटिङ) बाट असूली गर्ने उद्देश्यले ‘म्याच फिक्सिङ’ गराउने प्रयास भएको थियो । ‘क्रिकेटमा खेल नै फिक्सिङ गर्न गाह्रो विषय हो, यद्यपि म्याच नै फिक्सिङ गर्ने प्रयास समेत भएको देखियो’, उनले भने ।

फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको थियो ।

प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हालसम्मको अनुसन्धानले आयोजक नेपाल क्रिकेट संघ (क्यान) को व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्कै संलग्नतामा स्पट फिक्सिङ भएको देखिएको छ ।

हाल आईसीसी क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिट (एसीयू) ले पनि आफ्नो रिपोर्ट प्रहरीलाई बुझाइसकेको छ । त्यसमा खेलहरुको प्राविधिक विश्लेषण गरिएको छ ।

 

प्रकाशित : 22 January, 2023

प्रतिक्रिया दिनुहोस्