पोखरा महोत्सवमा एकै दिन ५० हजार दर्शक

पोखरा । माघ ९, पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन शनिबार ५० हजार दर्शक आएका छन् । शनिबारमात्र महोत्सवमा ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्दा करिव एक करोड बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए ।
महोत्सवमा टिकट काट्नेको उस्तै भिड भएको थियो भने महोत्सवमा चर्चित कलाकारको प्रस्तुति हेर्नेको उत्तिकै भिड भएको उनले जनाए । शनिबारसम्म महोत्सवमा २ लाख २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् । यसमा ८ करोड बरावरको कारोवार भएको प्रचार संयोजक सुनारले जानकारी दिए ।
महोत्सवमा चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । खाँडसंगै लोकदोहोरीतर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्कालगायतको प्रस्तुति थियो । यस्तै पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले हास्य प्रहसन प्रस्तुत गरेका थिए । सांझको लाइभ ब्याण्डमा युवा बीच चर्चित भिटेनको प्रस्तुति थियो ।
यसैबिच एघारौं पोखरा महोत्सवमा सामाजिक व्यक्तित्व तथा महिला उद्यमी समेत रहेकी लक्ष्मी शर्मा भट्टराई सम्मानित भएकी छन् । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवमा आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत जटिल रोगसंग जुध्दै अगाडि बढिरहेकी पोखरा १७ निबासी सामाजिक अभियनता एवं महिला उद्यमी शर्मा भट्टराईलाई नगद र प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरेको हो ।