कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्नेमा जोड

सहयात्रा टिभी

काठमाडौँ । माघ ९, नेपाली कांग्रेसले कुनै पनि बहानामा राष्ट्रपति निर्वाचन नसार्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएको छ ।

‘राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ, कुनै पनि कारणबाट यसलाई पछि सार्ने काम हुनुहुन्न,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘ऐनमा समस्याहरु छन् भने त्यसलाई समयमै समाप्त पारेर निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौं ।’ डा. महतका अनुसार राष्ट्रपतिको चुनाव फागुन २९ गतेबाट पनि उता लैजाने प्रयास हुन थालेको छ, त्यसलाई कांग्रेसले कुनै हालतमा स्वीकार गर्दैन ।

निर्वाचन आयोग स्रोतका अनुसार राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा संविधान र ऐनको व्यवस्था बाझिएको छ । संविधानको ६३ मा ‘राष्ट्रपतिको पदावधि निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ’ भनिएको छ । यस्तो ५ वर्षे कार्यकाल निर्वाचित ९निर्वाचन परिणाम घोषणा भएको दिन० मितिबाट प्रारम्भ हुन्छ ।

तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनमा भने पदावधि सकिनुभन्दा एक महिना अघि निर्वाचन गर्नुपर्ने भनिएको छ । ऐनको दफा ४ मा भनिएको छ, ‘आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि वा अन्य कुनै कारणले यो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने छ ।’

अब ऐनअनुसार निर्वाचन गर्ने हो भने एक महिना देशमा दुई जना राष्ट्रपति हुने देखिन्छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका सन्दर्भमा संविधान र ऐन बाझिएको विषयमा दुई वर्षअघि नै तत्कालीन प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो । त्यो बेला स्थानीय तह, प्रदेश र संघीय संसदका चुनावका सन्दर्भमा पनि यस्तै कानुनी उल्झन रहेकाले सबैलाई सम्बोधन गर्ने गरी कानुन बनाउने भनिएको थियो । तर अझैसम्म कानुन संशोधन भएन ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी २९ फागुन २०७४ मा निर्वाचित भएकी हुन् । यसअनुसार उनको ५ वर्षे कार्यकाल २८ फागुन २०७९ सम्म कायम रहन्छ । तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार २९ माघअघि नयाँ राष्ट्रपति चुनिने गरी निर्वाचन घोषणा गनुपर्छ ।

एक आयुक्तका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसबारे जानकारी गराइएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले सोमबार मात्र प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका प्रधानमन्त्री प्रचण्डसँग यसबारे छलफल समेत गरेका थिए ।

 

 

प्रकाशित : 23 January, 2023

प्रतिक्रिया दिनुहोस्