त्रिविले उत्तरपुस्तिका साटेको फोटो खिच्ने कर्मचारीलाई गरेको निलम्बन, सूचना आयोगले फुुकुवा

काठमाडौं । माघ १३, राष्ट्रिय सूचना आयोगले अनियमितता हुँदै गरेको सूचना दिनुलाई मर्यादा विपरीत भन्न नमिल्ने आदेश जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको परीक्षामा मर्यादा विपरीत कार्य भएको फोटो भिडियो खिचेर जानकारी गराउने धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले उनले गरेको काम मर्यादा विपरीत नभएकाले उनीमाथि विश्वविद्यालयले कुनै कारबाही गर्न नमिल्ने आदेश दिएको हो ।
क्याम्पसको परीक्षा शाखामा कार्यरत भण्डारीले परीक्षार्थीको उत्तरपुुस्तिका सट्टापट्टा भएको तस्वीर खिचेर माथिल्लो निकायलाई बुझाउँदा परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै २०७७ चैत ४ गते त्रिवि कार्यकारी परिषदले उल्टै सरितालाई नै निलम्बन गरेको थियो ।
सरिताले परीक्षामा हुने मर्यादा विपरीत कार्य रोक्ने प्रयास गर्दा त्रिविले आफूमाथि अन्याय गरेको भन्दै राष्ट्रिय सूचना आयोग उजुरी दर्ता गरेकी थिइन् । जसमाथि सुनुवाइ गर्दै आयोगले भण्डारीले वेथिति, अनियमितता रोक्न र सुधार गर्न खोजेको हो भन्ने कुरा प्राप्त प्रमाण र कागजातहरुबाट पुष्टि भएको भन्दै त्रिवि रजिष्टारलाई भण्डारीको निलम्बन फुुकुवा गर्न र यस अवधिमा प्राप्त गर्नु पर्ने पारिश्रमिक, सुविधा लगायत सुबिधा समेत उपलब्ध गराउन निर्देशन दिएको छ ।
‘सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २९ को उपदफा (३) मा त्यसरी सूचना दिएको कारणले कुनै पनि त्यस्ता सार्वजनिक निकायका कर्मचारीलाई दायित्व बहन गराउने गरी सजाय गरिने वा नोक्सानी पुर्याइने छैन भनी किटानी व्यवस्था विपरीत छ,’ प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ तथा सूचना आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीले जारी गरेको आदेशमा भनिएको छ ।