कीर्तिपुर अस्पताललाई एक लाख रुपैयाँ बुझाउन नसक्दा शव दिएन

काठमाडौँ । माघ १६, रौतहटकी २५ बर्षीया पुनम कुमारीको आगोले जलेको कारण कीर्तिपुर अस्पतालमा आइतबार मृत्यु भयो । श्रीमतीको मृत्युपछि अस्पतालको बिल तिर्न नसकेर रौतहटका मनोज कुमारले सास्ती भोगिरेहका छन् ।
९ पुसमा दुई महिनाको छोरालाई तेल लगाउने क्रममा कुमारीको लुगामा आगो सल्किएका कारण शरीर जलेको थियो । परिवारले नजिककै गौर अस्पताल पुर्याए । केही दिन त्यही उपचार भयो । तर, जलेको घाउ बिग्रदै गयो ।
मृतकका श्रीमान मनोजका अनुसार पुनको ४० प्रतिशत शरीर जलेको थियो । गौर अस्पतालमा उपचार हुँदा ७० हजार सकियो । करिब एक महिनामा कीर्तिपुर अस्पतालमा ४ लाख रुपैयाँभन्दा बढी खर्च भयो ।
मनोजको घरमा बुबा–आमा र दुई छोरी र एक छोरा छन् । ‘भएको त्यही एउटा सानो झुप्रो घर छ । त्यही बेच्दा पनि बुढा बुबा–आमा र सना छोरीलाई कहाँ राख्ने,’ मनोज भन्छन् , ‘गरिब छु । पैसा तिरेर मात्रै शव लैजानु भन्छन् । शव छोडेर हिँड्न पनि सक्दिन ।’
अस्पतालका प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले फार्मेसीबाट लिएको औषधि मात्रै एक लाखभन्दा बढी भएकाले मिनाहा गर्न गाह्रो भएको बताए । ‘उहाँले गाउँबाट थोरै पैसा आउँदै छ भन्नुभएको छ । बाँकी पछि तिर्ने सर्तमा शव दिने तयारी भइरहेको छ,’ नकर्मीले भने ।