कपिलवस्तुमा भूमिगत संगठनको नाममा चन्दा आतंक, ४ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । माघ १६, नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ ।

गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जानकारी दिइन् ।

उनीहरुमाथि गत २२ कात्तिकमा २ वटा ट्रक र एउटा मोटरसाइकलमा श्रृङ्खलावद्ध आगजनी गरेको आरोप छ । ती गाडी जलाएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विकरान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्द लगायतका विभिन्न ७ बुदे मागसहितको पर्चाहरु प्रहरीले फेला पारेको थियो ।

त्यस्तै उनीहरुले गत पुसको १६, १७ र १८ गते कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा मागेका थिए । चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए ।

२६ पुर र २ माघमा कृष्णनगर नगरपालिका-८ मौजा गणेशपुरका ४४ वर्षका ओमकार चौधरीलाई फोन गरेर १० लाख रुपैयाँ चन्दा मागेका प्रहरीले बताएको छ ।

 

प्रकाशित : 30 January, 2023

प्रतिक्रिया दिनुहोस्