हिरासत कक्ष तोडेर ६ जना फरार भएपछि महेन्द्रनगरका तीन प्रहरी निलम्बित

काठमाडौं । माघ १७, धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका तीनजना प्रहरी निलम्बनमा परेका छन् । हिजो सोमवार हिरासत कक्ष तोडेर ६ जना थुनुवा फरार भएपछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरीलाई निलम्बनमा परेका हुन् ।
घटनामा लापरबाही गरेको भन्दै हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवलदार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जनाइएको छ ।
थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहेको भए पनि ड्युटीको समयमा प्रहरीको लापरबाही देखिएकाले उनीहरुलाई निलम्बन गरिएको बताइएको छ । थुनुवा फरार घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिएका छन् ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ । दुवै समितिले सूक्ष्म रुपमा प्रहरीको कमिकमजोरीबारे छानबिन गरिरहेको जनाइएको छ ।