पशु सेवाकेन्द्र तनहुँले बाच्छी र पाडी पाल्नेलाई १० हजार पुरस्कार

काठमाडौँ । माघ १९, तनहुँमा बाच्छी र पाडी पाल्ने किसानलाई १० हजार रुपैयाँ दिइने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बाच्छी र पाडी पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप १० हजार पुरस्कार रुपैयाँ दिने भएको हो ।
बाच्छी र पाडी हुर्काउने कृषक घट्दै गएपछि संरक्षणका लागि केन्द्रले आर्थिक वर्ष २०७७/७८ देखि यो उपाय अघि सारेको हो । नमुना परियोजनाका रुपमा अघि सारिएको यस कार्यक्रम प्रभावकारी बन्दै गएपछि यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको केन्द्रले जनाएको छ।
आव २०७७/७८ मा एक सय बाच्छा र पाडी संरक्षण गर्ने ८४ जना कृषकलाई पुरस्कारस्वरुप १० लाख रुपैयाँ प्रदान गरिएपछि यस वर्ष पनि चासो राख्दै केन्द्रमा आउने कृषकको चाप बढेको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले बताउनुभयो ।