यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

सहयात्रा टिभी

काठमाडौं । माघ २४, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर मंगलबार नेपाल भ्रमणमा आउँदै छिन् । पावर दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउन लागेको हो ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेको हो ।

सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यही उच्च तहको भ्रमण हो । पावरको भ्रमणका विषयमा युएसएडले गत बुधवार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उनि ७ फेब्रुअरीमा फर्किने कार्यक्रम रहेको छ ।

पावरको यस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

पावर नेपाल बस्दा नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका लागि गर्न सकिने प्रयास र उपलब्धिहरूबारे छलफल गरिने बताइएकाे छ ।

प्रकाशित : 7 February, 2023

प्रतिक्रिया दिनुहोस्