पूर्वमेयर र उपमेयरसहित धनुषामा १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

सहयात्रा टिभी

काठमाडौं । माघ २४, धनुषा – कृषि सडक निर्माण क्रममा रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका निवर्तमान मेयर र उपमेयरसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

निवर्तमान मेयर उदयकुमार बरबरिया, उपमेयर शिलादेवी कापरी, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, तत्कालीन लेखा समिति संयोजक जैसीलाल भिनवार यादव, सुशासन समितिका संयोजक कन्हैया मुखिया, इन्जिनियर सञ्जय यादव, वडा नम्बर ८ का अध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी र सचिव मुकेश लखनदेव यादव र तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा विरुद्ध मुद्दा परेको हो ।

नगरपालिकाले आव २०७४/७५ का लागि वडा नम्बर ८ मा रहेको बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माण गर्दा फर्जी कागजात बनाएर फिल्डमा भएको भन्दा बढी रकम उल्लेख गरी रकम हिनामिना गरेको कसुरमा अख्तियारमा उजुरी परेको हो ।

विशेष अदालतमा मुद्दा दायर भएपछि पद स्वतः निलम्बनमा पर्ने भएकाले झा निलम्बनमा परेका छन् । अख्तियारले सजाय हुन मागदाबी लिइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सोमवार हिजो विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरेको छ ।

 

 

प्रकाशित : 7 February, 2023

प्रतिक्रिया दिनुहोस्