चितवनमा कृषि एम्बुलेन्स सञ्चालन गरी तरकारी ढुवानी गर्ने तयारी

काठमाडौं । माघ २४, कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए ।
नका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो ।
“किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न खोजेका हौँ”, उनले भने । अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पुर्याउनुपर्ने बाध्यता छ ।
तत्कालका लागि तीनवटा एम्बुलेन्स खरिद गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार सङ्घीय सरकारले रु ४० लाख बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा–आधा रकमको व्यवस्थापन हुनेछ ।