भत्ता लिन गएकी वृद्धाको फर्कँदा बाटोमै ज्यान गयो

काठमाडौँ । माघ २६, बझाङ सामाजिक सुरक्षा भत्ता लिन गएकी छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ की ७२ वर्षीया वृद्धा सीता गिरीको हिजो बाटोमै ज्यान गयो ।
घरबाट ५ किलोमिटर टाढा रहेको कुमारी बैंकबाट भत्ता लिएर घर फर्किँदै गर्दा एकल महिला गिरीको बाटोमै ज्यान गएको हो । उहाँ दमको बिरामी हुनुहुन्थ्यो ।
यो त प्रतिनिधि घटना मात्रै हो । सरकारले बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेपछि दुर्गम जिल्लाका नागरिकलाई निक्कै सास्ती हुने गरेको छ । विशेषत वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बेसहारा, हिँडडुल गर्न नसक्नेहरुले लागि घरमा नै पुगेर भत्ता दिने व्यवस्था नहुँदा निक्कै दु:ख पाउने गरेका छन् ।
छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गगन बहादुर ऐडीले वृद्धा महिलाको ज्यान के कारणले गयो भन्नेबारे जानकारी नभएको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा भत्ता सहज तरिकाले उपलब्ध गराउनका लागि छिट्टै छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
अन्तिम अपडेटस् माघ २६, २०७९