टर्की भूकम्प: २१ हजारभन्दा बढीको मृत्यु

सहयात्रा टिभी

एजेन्सि । माघ २७, दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि शुक्रबार बिहानसम्ममा मृतक संख्या २१ हजारभन्दा बढी पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । आश्रय, पानी, इन्धन र बिजुली अभावका कारण गम्भीर घाइते भएकासमेत जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भूकम्पभन्दा अन्य प्रकोपका कारण सर्वसाधारणले अझ जटिल चुनौती सामना गर्नुपर्ने चुनौती थपिएको छ । दुवै देशका उद्धारकर्मी सक्रिय रहे पनि भग्नावशेषमुनि फसेका धेरैलाई जीवित उद्धार गर्ने आशा भने न्यून देखिएको छ । बेलायती परोपकारी संस्थाले प्रभावित मानिसका लागि कोष जुटाउन अपिल सुरू गरिसकेका छन् ।

टर्की–सिरियामा २१ हजार बढीको मृत्यु

यसैगरी, विपक्षीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा समेत संयुक्त राष्ट्र संघको सहायताको पहिलो चरणमा ६ लरी टर्कीबाट त्यस क्षेत्र प्रवेश गरेको छ । उद्धारकर्ताका अनुसार कम्तीमा १ हजार ९ सय जनाको मृत्यु भएको र धेरै मानिस ध्वस्त संरचनामा फसेको हुन सक्छन् । सो क्षेत्रमा भूकम्प आउनुअघि लाखौं जनता (जसमा अधिकांश महिला र बालबालिका छन्) बाँच्नका लागि मानवीय सहायताको भरमा थिए ।

बाल अल हवा क्षेत्रमा जिहादी गठबन्धन र राष्ट्रपति बसर अल अदको सरकारको विरोध गर्ने टर्की समर्थित विद्रोही गुटद्वारा नियन्त्रित छ । दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले सार्वजनिक गरेको तथ्यांकअनुसार टर्कीमा मात्र भूकम्पबाट ज्यान जाने नागरिकको संख्या १२ हजार ३ सय ९१ पुगेको छ । यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी घाइते भएको जनाएको थियो । घाइते भएका अस्पताल पुयाइएका र अस्पतालमै पनि निधन भएका समाचार आइरहेका छन् ।

सिरियामा पनि भूकम्पमा परी बिहीबारसम्म ज्यान जानेको संख्या १ हजार २ सय नाघेको छ । यहाँ २ हजारभन्दा बढी घाइते भएका छन् । टर्की दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार गत सोमबार बिहान ४ः१७ बजे ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प गयो ।

त्यस्तै, सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रबिन्दु रहेको कहरमानमारासमा उद्धारकर्मी जीवित व्यक्तिको खोजीका लागि जुटेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली र राहत सामग्री प्रदान गरिरहेका छन् । यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा पुगेको छ ।

अमेरिकी अधिकारीले पनि उद्धारका लागि अमेरिकी टोली पठाइएको छ । संयुक्त राष्ट्रसंघले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको छ । युरोपेली युनियन (ईयू) सदस्य राष्ट्र एवं ईयू नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशले भूकम्प प्रभावित क्षेत्रमा ३६ उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन् । भूकम्पबाट उत्पन्न संकट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले यस्तो कदम चालिएको बताएका छन् । टोलीमा करिब १ हजार ५ सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको छ ।

 

प्रकाशित : 10 February, 2023

प्रतिक्रिया दिनुहोस्