एम्बुलेन्स ग्यारेजमा थन्किदा खोटाङका बिरामीलाई सास्ती मात्र

काठमाडौ । माघ २७, छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले सात वटा एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । तर ति एम्बुलेन्स ग्यारेजमा थन्किदा खोटाङका बिरामीले सास्ती बेहोर्नु परेको छ ।
खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई एक करोड १२ लाख रुपैयाँमा खरिद गरिए एम्बुलेन्स उपलब्ध गरायो ।
जिल्लामा भरपर्दो अस्पताल नहुँदा सामान्य रोगका बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । ऐँसेलुखर्क, लामाखु र सिम्पानीको एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएका छन् ।
एम्बुलेन्स तीन वर्ष अगाडि सिराहाको कञ्चनपुरमा दुर्घटनामा परेपछि उतै थन्किएको छ । यस्तै सिम्पानीको एम्बुलेन्स बिग्रिएर थन्किएको दुई वर्ष भएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताउनुभयो ।
जिल्ला अस्पताल, बुइपा, ऐँसेलुखर्क, केपिलासगढी, जन्तेढुङ्गा, दिप्रङ चुइचुम्मा, बराहपोखरी र साकेला गाउँपालिकामा पनि अहिले एम्बुलेन्स सञ्चालनमा छन् । बराहपोखरी, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, ऐँसेलुखर्क र साकेलाले आफ्नै पहलमा पनि एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएका छन् ।
खोटाङ सेवा समाज बेलायतले दिएको सात वटाबाहेक जिल्लामा अन्य नौ वटा एम्बुलेन्स छन् तर चाहिएको समयमा उपलब्ध नभएको उपभोक्ताको गुनासो छ ।