पार्टी एकता र समाजवादी मोर्चा निर्माण छिट्टै हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । फाल्गुन १, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता र समाजवादी मोर्चा बनाएर अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब छिटै समाजवादी मोर्चा बनाएर नयाँ नेतृत्व निर्माण गरिने बताए ।
प्रधानमन्त्री दाहाल फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गरे । उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताए ।
‘सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु । केही समयदेखि आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया अघि बढिसकेका छन् । मैले पनि धेरै समूहसँग छलफल गरेको छु,’ उनले भने, ‘मलाई विश्वास छ छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ । त्यसले आम माओवादी नेता कार्यकर्ता मात्र नभइ आम जनतालाई पनि एक पटक उत्साहित गर्नेछ । कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ । छिटै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणमा आउने विश्वास लिएको छु ।’
उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे । उनले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए । प्रधानमन्त्री दाहालले केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोसिसहरु भइरहेको उल्लेख गर्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताए ।