सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । फाल्गुन १, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन्।
सोमबार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री पौडेलले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पछि पार्ने नीति नलिने बताए।
उनले सामुदायिक रेडियोहरु पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेष्ण गर्नुपर्ने बताए। मन्त्री पौडेलले सामुदायिक रेडियोहरुको नवीकरण, दर्ता र करका विषयमा रहेका समस्याहरुको समाधानका लागि प्रतिनिधिमुलक ढंगबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गरे।
उनले रेडियोहरुको गति तिब्र रुपमा अघि बढ्न जरुरी रहेको बताए। नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत् विश्वभर पुर्याउन सक्नुपर्ने उनले उल्लेख गरे।
विगतका शान्तिप्रक्रिया र द्वन्द्वका घाउलाई मलमपट्टी लगाउँदै अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताए। रेडियो र शान्ति भन्ने नारासहित यस वर्ष विश्व रेडियो दिवस मनाइएको छ।