महामन्त्री थापा: गठबन्धमा फागुन १० गतेभित्र फेरबदल ल्याउने दाबी

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन १, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र वर्तमान सत्ता गठबन्धमा फेरबदल ल्याउने दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले सोमवार कोटिहवामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन गरेरै छाड्ने बताउनुभएको हो ।

नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उहाँले दाबी गर्नुभएको हो ।

फागुन २५ गते नेपाली कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने बताउनुभयो ।

उहाँले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने जिकिर गर्नुभयो ।

 

प्रकाशित : 13 February, 2023

प्रतिक्रिया दिनुहोस्