सांसद सुमना श्रेष्ठ : न्यायपालिकाको काम चुस्त, दुरूस्त र पारदर्शी हुनुपर्ने माग
सहयात्रा टिभी
काठमाडौं । फागुन ३, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दिएको भन्दै प्रश्न गरेकी छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अभियुक्त लामिछानेलाई नेपाली क्रिकेटको राष्ट्रिय टोलीमा समावेश गरिएकोमा प्रश्न गरेकी हुन् । लामिछानेलाई कुन नैतिकताको आधारमा र कसरी राष्ट्रको प्रतिनिधि बनाइएको भन्दै प्रश्न सोधेकी हुन्।
यसकारण न्यायपालिकाको काम चुस्त, दुरूस्त र पारदर्शी हुनुपर्ने पनि माग राखेकी छन् । यसो नहुँदा कानुनी मुद्दामा समाज विभाजन भएको बताइन्।
सांसद श्रेष्ठले बैठकमा जनगणनाको तथ्यांक नआएको विषयमा पनि प्रश्न उठाएकी थिइन्। ‘सभामुखमार्फत सरकारलाई प्रश्न सोध्न चाहान्छु, जनगणना सकिएको महिनौं भइसक्दा पनि त्यसको प्रतिवेदन आएको छैन । तथ्यांकको आँकडा नै नभइकन केको आधारमा नीति निर्माण गर्ने ?,’ उनले सोधिन्।


