निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण

खोटाङ । फाल्गुन ४, साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई निःशुल्क स्वास्थ्य बिमा परिचयपत्र वितरण गरेको छ । स्वास्थ्यमा पहुँच विस्तार गर्न उक्त पालिकाले जनहितमा यो सुन्दर निर्णय गरेको हो ।
७० वर्षमाथिका ४ सय ७ जेष्ठ नागरिक र २१ जना पूर्ण अपांगता भएकालाई निःशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइएको उक्त गाउँपालिकाका सामाजिक विकास शाखाका डीएम चाम्लिङले बताए । उनीहरूले स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालहरूबाट १ लाख रुपैयाँसम्मको औषधि उपचारमा छुट पाउने गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । पूर्ण अपांगता भएका नागरिकका हकमा एकाघरका अन्य सदस्यको पनि निःशुल्क स्वास्थ्य बिमा गरिने उनले जनाए ।
उक्त बिमा कार्ड बाँझेच्यानडाँडाको सेखुवा, बाँझे र डाँडागाउँमा वितरण गरिएको हो । बिमा कार्ड वितरणसहित वडा कार्यालयसम्म आएर मालपोत तिर्न नसकेकालाई टोलमै सुविधा दिइएको राईले सुनाए । ‘गाउँगाउँमा सिंहदरबार आयो भनेर मात्र हुँदैन, त्यसको अनुभूति हुने गरी सेवा पनि दिनुपर्छ,’ उनले भने, ‘सेवा पाएपछि मात्र जनताले गाउँमा सिंहदरबार महसुस गर्छन् ।’
गाउँपालिकाकी स्वास्थ्य शाखा संयोजक रीता ढकालका अनुसार वडा १ बाँझेच्यानडाडाँका १ सय २ ज्येष्ठ नागरिक र चार जना पूर्णअपांगता, वडा २ रतन्छाका १ सय ३ जेष्ठ नागरिक र पाँच जना पूर्णअपांगता, वडा ३ खिदिमाका २६ ज्येष्ठ नागरिक र तीन जना पूर्णअपांगता, वडा ४ मात्तिमका ९८ ज्येष्ठ नागरिक र चार जना पूर्णअपांगता भएका तथा वडा ५ मात्तिमबिर्ताका ७८ ज्येष्ठ नागरिक र ५ जना पूर्णअपांगता भएकाहरूको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।