पशुपति क्षेत्र वरपर महाशिवरात्रि पर्वमा ७ सय ट्राफिक परिचालन

काठमाडौँ । फागुन ६ मा (शनिवार) आयोजना हुने महाशिवरात्रि पर्वमा गौशाला क्षेत्रमा ठुला सवारीलाई प्रवेश निषेध गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार मध्यरातबाट नै ठुला सवारी साधन सो क्षेत्रमा प्रवेश गर्न नदिनेगरी ट्राफिक ‘व्यवस्थापन योजना’ बनाएको छ ।
शुक्रवार राति १२ देखि शनिवार साँझ ६ बजेसम्म ६ पाङ्ग्रे र मालवाहक सवारी साधनलाई पशुपति क्षेत्रमा प्रवेश गर्न नदिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।
ट्राफिक प्रहरीले पशुपतिमा दर्शन गर्नेहरूको चाप हेरेर पहिलो चरणमा सिनामंगल, पुरानोबानेश्वर, रातोपुल र मित्रपार्क क्षेत्रबाट सवारी डाइभर्सन गर्ने भएको छ । दर्शनार्थीको चाप बढेपछि चाबहिलबाट गौशालातर्फ र पुरानोबानेश्वरबाट गौशाला आउने सवारीलाई निषेध गर्ने निर्णय गरिएको छ ।
शनिवार शिवरात्रि मेला अवधिभर पशुपति क्षेत्रमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ७ सय ट्राफिक परिचालन गर्ने भएको छ । पशुपति मन्दिर परिसरमा कमाण्ड सेन्टर तयार गरेर प्रहरी नायव उपरीक्षक (डिएसपी)ले ट्राफिक व्यवस्थापनको कमाण्ड गर्नेछन् ।