प्रचण्ड र निधिबीच भेट, राष्ट्रपतिबारे छलफल

सहयात्रा टिभी

काठमाडौं  । फाल्गुन  ६,  राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटलाई तीब्र बनाएका छन् । कांग्रेस नेता विमलेन्द्र निधि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न आज बिहान बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। निधिले प्रचण्डलाई राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेको कांग्रेसका एक नेताले जानकारी दिए। एमालेलाई राष्ट्रपति दिँदा सबै शक्ति उसको हातमा पर्ने भएकाले बनाउन नहुने बताउँदै कांग्रेसलाई सघाउन आग्रह गरेका छन्।

नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउन निरन्तर प्रयास जारी राखेको छ। गत निर्वाचनमा मोर्चाबन्दी गरेर एमालेविरुद्ध निर्वाचनमा लडेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा पुन: माओवादी केन्द्रलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको हो।

शुक्रबार साँझ पनि कांग्रेसका नेता कृष्णप्रसाद सिटौली प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका थिए। उनले कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेको भन्दै त्यही कारण २६ पुसमा विश्वासको मत दिएको स्मरण गराएका थिए। सिटौला राष्ट्रपतिको आकांक्षीसमेत रहेको कांग्रेसवृत्तमा चर्चा छ। सोही कारण पनि उनी तीव्र लबिङमा छन्।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिको निर्वाचनबारे कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतले पनि विभिन्न चरणमा छलफल गरेका छन्। कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच पनि छलफल जारी रहेको छ।

शुक्रबार दिउँसो बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले १० पुसकै सहमति स्मरण गराएका थिए। जसमा माओवादीले प्रधानमन्त्री पाउँदा राष्ट्रपति र सभामुख (आधा-आधा कार्यकाल) एमालेले पाउनुपर्ने सहमति भएको थियो। तर सहमति विपरित प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको रटान लिएको एमाले नेताहरुको आरोप छ।

कांग्रेसले राष्ट्रपतिमा दाबी गरेपछि पछिल्लो समय एमाले सशंकित बनेको छ। प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव गरेपछि गठबन्धन नै संकटमा परेको छ। यद्यपि नेताहरूले गठबन्धन नभत्किने दाबी गरिरहेका छन्।

प्रकाशित : 18 February, 2023

प्रतिक्रिया दिनुहोस्