प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले दिए शुभकामना सन्देश

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ७, राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले शुभकामना सन्देश दिएका छन् ।

सो दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताइन् ।

उनले नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गरेकि छिन् ।

त्यस्तै,उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका क्रान्ति तथा आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई अपिल गरेका छन् ।

प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उपराष्ट्रपति पुनको अपेक्षा छ ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनिएको छ, “आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ ।”

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित प्रधानमन्त्रीले समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताए ।

प्रजातन्त्र दिवसका सन्दर्भमा नेपालमा प्रजातन्त्र एवं लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले प्रजातन्त्रप्रतिको निष्ठालाई आत्मसात गर्न हामीलाई यस पावन दिनले सदैव प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, सोही अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ को जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभइ आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गरेका छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन् ।

प्रकाशित : 19 February, 2023

प्रतिक्रिया दिनुहोस्