आदिल अन्सारी र महबुब आलमसहित पाँच विरुद्ध स्पट फिक्सिङ आरोपमा मुद्दा दर्ता

काठमाडौं । फागुन ८, नेपाल टी–२० क्रिकेट लिगमा (स्पट फिक्सिङ) गरेको भन्दै राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय काठमाण्डौले आज सोमवार आदिल र महबुबसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको हो ।
पाँच जनामध्ये तीन जना खेलाडी रहेका छन् । खेलाडीहरू आदिल, महबुब र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिबाना माग गरिएको छ । उनीहरू तीनै जनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ ।
त्यस्तै स्पट फिक्सिङमा संलग्न नवीन कँडेल र रवि माफीलाई पनि उही कारबाही माग गरिएको छ । उनीहरू दुवै जना फरार छन् ।