आज आंशिकदेखि सामान्य मौसम बदली, प्रदेश-१ मा फाट्टफुट्ट पानी पर्न सक्ने

काठमाण्डाै । फागुन ९, आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव परेको छ ।
यही प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आज प्रदेश १ मा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।
अन्य क्षेत्रमा भने बादल लागे पनि वर्षाको कुनै सम्भावना छैन । यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् । भोलिको मौसम पनि यस्तै रहने अनुमान छ ।
पश्चिमी वायुका कारण यसपालिको हिउँदमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन । पानी पार्ने प्रणाली सक्रिय नहुँदा वर्षा नभएको माैसमविद्ले बताउने गरेका छन् ।