गैंडाको आक्रमणबाट चितवनको रत्‍ननगरमा एकको मृत्यु

सहयात्रा टिभी

चितवन । फाल्गुन ९, गैंडाले आक्रमण गर्दा मंगलबार बिहान चितवन रत्‍ननगरमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा रत्ननगर-९ का ६० वर्गीय चन्द्रबहादुर तमाङ रहेका छन् ।

बिहान सबेरै उनलाई गैंडाले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

रत्ननगर-९ को लालपर्सा र मोहनाको बीचमा पर्ने बाटोमा उनलाई गैंडाले आक्रमण गरेको थियो । उक्त ठाउँ जंगलबाट निस्केका गैंडा ओहोरदोहोर गर्ने बाटो भएको तिवारीले बताए । दुईवटा गैंडा उक्त ठाउँमा देखिने गरेका हुँदा सावधानी अपनाउन उनले अपिल गरेका छन् ।

निकुञ्ज आसपासको गाउँ, बस्ती, खेत र वन क्षेत्रमा वन्यजन्तुले बर्सेनि मान्छेलाई आक्रमण गर्दा अंगभंग हुने र ज्यानसमेत जाने घटना हुने गरेका छन् । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार यो आर्थिक वर्षमा यो घटनासहित वन्यजन्तुले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ ।

प्रकाशित : 21 February, 2023

प्रतिक्रिया दिनुहोस्