सरकारले बिजनेस नदिँदा संसदको हिउँदे अधिवेशन शून्य

काठमाडौँ । फाल्गुन ९, सरकारले संसदलाई बिजनेस नदिँदा यस पटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमा नै सकिने भएको छ ।
संसद सचिवालका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुनः दर्ता गर्नेगरी सरकारले हाल कुनैपनि विधेयक नल्याएको जानकारी प्राप्त भएको छ ।
अघिल्लो प्रतिनिधि सभाको कार्यकाल सकिएपछि २७ वटा विधेयक निष्क्रिय भएकामध्ये सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) सम्बन्धी विधेयक दर्ता भए पनि अन्य विधेयक सरकारले संसद सचिवालयमा दर्ता नगराएको बताए ।
राजनीतिक दलको दाउपेचले संसद छायाँमा पर्दै गएको छ । संघीय संसदको यो अधिवेशन लगत्तै बजेट अधिवेशन पनि सम्मुखमा छ । संसदमा रहेका राजनैतिक दलहरु अहिले कसलाई राष्ट्रपति बनाउने भन्ने कसरतमा लागेका छन् ।
यसैले फागुन २५ गतेसम्म त्यसै रस्साकसीमा समय जानेछ । त्यसको परिणामले अहिलेको सरकारको भविष्य निर्धारण गर्ने भएकाले सरकारले संसदलाई बिजनेस दिन नसकेको हो ।
वैशाख अन्तिम साताबाट बजेट अधिवेशन सुरु हुने हुँदा आगामी चैत्र भरको समय अघिल्लो कार्यकालमा निष्क्रिय भएका विधेयक जगाएर प्रक्रिया अघि बढाउन समय अपर्याप्त हुने देखिन्छ ।