सुरु भयो अक्षय कुमारको ‘हेराफेरी ३’को छायांकन
काठमाडौँ । फाल्गुन ९, बलिउड फिल्म ‘हेराफेरी ३’को कलाकार हेरफेरलाई लिएर सन् २०२२ मा निकै चर्चा चल्यो ।
स्क्रिप्टमा चित्त नबुझेको भन्दै अक्षय कुमारले आफू तेस्र्रो श्रृंखलामा नजोडिने बताएपछि त सामाजिक सञ्जालमा तरंग नै ल्यायो । अक्षयलाई सिक्वेलमा फिर्ता ल्याउनुपर्ने नत्र बहिष्कार गर्ने भनेर फ्यानले अभियान नै चलाए ।
अक्षयले आफू फिल्ममा नहुने बताएको दुई सातापछि निर्माता फिरोज नाडियावालाले दर्शकको दबाबपछि अक्षयलाई फिर्ता ल्याउन छलफल चलाए । जब समाचार भाइरल बन्यो सोसल मिडियामा केहीले यसलाई फेक न्युज भएको दाबी गरे र केहीले लेखकको मजाक पनि गरे ।
एक साताअघि पनि हेराफेरी ३ को भविष्य तय गर्न अक्षय कुमार, सुनिल शेट्टी र परेश रावलले मुम्बईको एम्पायर स्टुडियोमा भेटेको खबर पनि बाहिरिएको थियो ।
‘हेराफेरी ३’ मा उनीहरुको यो पहिलो आधिकारिक बैठक थियो । अब भने यो फिल्मलाई लिएर विशेष अपडेट छ । स्रोतका अनुसार अक्षय कुमार, सुनिल शेट्टी र परेश रावललाई शीर्ष भूमिकामा लिएर मंगलबारदेखि मुम्बईमा छायांकन सुरु भएको छ ।