सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । फागुन १४, क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दिएको पुनरावलोकनको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
विदेश जान पाउनुपर्ने भन्दै सन्दीपले दिएको निवेदनमाथि न्यायाधीश ईश्वर खतिवडाको इजलासबाट गत शुक्रबार प्रारम्भिक सुनुवाइ गरिए पनि कुनै फैसला आएको थिएन ।
आइतबार सोही रिटमाथि सुनुवाइ गर्ने तालिका भए पनि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले उक्त सुनुवाइलाई सोमबार निरन्तरता दिनेछन् ।
नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
दुवै मुद्दामा आइतबार न्यायाधीश मल्ल र चुडालको इजलासमा सुनुवाइ भएको थियो । अब यो मुद्दामा यही इजलासमा सोमबार सुनुवाइ हुनेछ ।