राष्ट्रपति पदका दुवै उम्मेदवार विरुद्ध उजुरी परेन

सहयात्रा टिभी

काठमाडौं । फागुन १५, राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए ।

ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने म्याद १४ गतेसम्म थियो । उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ गते निर्धारण गरिएको थियो ।

तर उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी नपरेकाले सोही व्यहोराको निर्णय गर्ने सहायक निर्वाचन अधिकृत एवम् प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन् ।

निर्वाचन तालिका अनुसार फागुन १६ गते बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय निर्धारण गरिएको छ । सोही दिन ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । त्यसपछि फागुन २५ गते राष्ट्रपति पदको निर्वाचन हुनेछ ।

प्रकाशित : 27 February, 2023

प्रतिक्रिया दिनुहोस्