लिग टुमा पीएनजीविरुद्ध नेपाल ४ विकेटले विजयी, लगातार पाँचौँ जितको कीर्तिमान

सहयात्रा टिभी

काठमाडौं । फागुन १५, आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध जित निकालेको छ ।

यूएईको दुबई अन्तराष्ट्रिय मैदानमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको हो । यो जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ५ विजयको कीर्तिमान पनि बनाएको छ ।

पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । कुशलले ५ चौका प्रहार गरेका थिए । अर्का ओपनर आसिफ शेखले ४४ रन बनाए । दुई ओपनरका बीचमा ७६ रनको साझेदारी भएको थियो । मध्येक्रमका ब्याटर आरिफ शेखले ६२ बलमा ३८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान रोहितकुमार पौडेलले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुवा र सेसे बाउले समान ११ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो । पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए । सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए ।

किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाएर कुशल मल्लको बलमा आउट भए । हिरि हिरिले १० रन बनाउँदा आजको खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका प्रतिश जीसीले आउट गराए ।

नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी, सोमपाल कामी, प्रतिश जीसीको नाममा समान १-१ विकेट रह्यो ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर प्रतिश जीसीले पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् । पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलममै डेब्यु विकेट लिए ।

नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने प्रतिश ३७ औं खेलाडी हुन् ।

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

मार्च २ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

जितसँगै नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । पीएनजीको २९ खेलमा २ मा जित र २६ मा हारसहित अंकबिहिन रहेर पुछारमा छ ।

प्रकाशित : 27 February, 2023

प्रतिक्रिया दिनुहोस्