राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।

नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध उक्त दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औंपचारिक निर्णय गरेको हो ।

८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएपनि सरकारमा जाने विषय भने प्रवेश गराइएन ।

सरकारमा जाने विषयमा पार्टी सकारात्मक भएपनि समय आईनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाइ थियो।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । त्यसका लागि कांग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।

प्रकाशित : 1 March, 2023

प्रतिक्रिया दिनुहोस्