आईसीसी लिग टुमा यूएईसँग नेपाल पराजित
काठमाडौं । फागुन १८, यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईसँग पराजित भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ६८ रनले पराजित भएको हो ।
यूएईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर ५ बलमा अलआउट हुदै १ सय ३९ रन बनायो ।
नेपालका लागि कुशल मल्लले ५३ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । सन्दीप लामिछाने २६ रनमा अविजित रहँदा आसिफ शेखले १७ रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यूएईका रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान ३/३ तथा जुनेद सिद्धिकी २ विकेट लिए । जाहोर खान र सबिर अलिको नाममा समान १/१ विकेट रह्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनायो । यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
रोहन मुस्ताफले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेल्दा आर्यन लाक्राले २८ रन बनाए । कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरबिन्द १८ रनमा आउट भए । ओपनर मुहम्मद वासिमलाई शून्य रनमा पहिलो ओभरमा नै आउट भएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए । करण केसी,कुशल मल्ल र आरिफ शेखको नाममा समान १/१ विकेट रह्यो । नेपालको लागि पहिलो ओभरमा करण केसीले मुहम्मद वासिमलाई बोल्ड आउट गरेका हुन् ।
जितपछि युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । पराजित नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।