काठमाण्डौ महानगरद्धारा पशुपतिमा अतिक्रमित संरचना हटाउन २४ घण्टे अल्टिमेटम

काठमाडौँ । फागुन १९, पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाण्डौ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँ भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ।
बुधवार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो ।
त्यही आधारमा महानगरले बिहीवार हिजो अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो।