विश्वकप लिग टु : यूएईविरुद्ध नेपालको पहिलो जित

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, यूएईमा भएको आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोलीविरुद्ध नेपालले पहिलो जित निकालेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा नेपाल ४२ रनले विजयी भएको हो । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा अलआउट हुँदै १८७ रनमा सीमित भयो ।

यूएईका लागि ओपनर मुहम्मद वासिम शून्य रनमा आउट भए । अर्का ओपनर आसिफ खानले अर्धशतक पूरा गर्दै सर्वाधिक ८२ रन बनाए। उनले ११५ बल सामना गर्दा २ चौका र ३ छक्का प्रहार गरे । आर्यन लाक्राले अर्धशतक पूरा गर्दै ५० रन बनाए । भृत्य अरविन्दले १३ रन जोड्नु बाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपाली बलरको कसिलो बलिङका सामू यूएईका बाँकी बलर ध्वस्त भएको थियो ।

नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए । दीपेन्द्रले एकै ओभरमा २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।

नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए । भिमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए ।

यूएईका लागि जुनेद सिद्दिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २-२ विकेट लिए । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।

यूएईलाई हराएसँगै नेपाल अंक तालिकाको शीर्ष तीनको सम्भावना कायमै रहनेछ । यूएईले पीएनजीसँगका दुवै खेल गुमाएपछि त्यसको फाइदा नेपाललाई पनि पुगेको छ । आइतबार भएको खेलमा यूएई पीएनजीसँग पाँच विकेटले हारेको थियो ।

नेपालको ३२ खेलबाट ३२ अंक छ । यूएईमाथि जित हात पारेसँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ । बाँकी ४ मध्ये २ खेल जिते नेपालको ओडीआईले निरन्तरता पाउनेछ ।

सन् २०१९ देखि जारी रहेको विश्वकप लिग टुको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

प्रकाशित : 6 March, 2023

प्रतिक्रिया दिनुहोस्