राष्ट्रपति चयनका लागि मतदान सुरु

सहयात्रा टिभी

काठमाडौँ । फागुन २५, नेपालको लागी तेस्रो पटकको राष्ट्रपति चयनका लागि भर्खरै मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले मतदान गर्दैछन् ।

संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो ।

दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

प्रकाशित : 9 March, 2023

प्रतिक्रिया दिनुहोस्