भोलिसम्म उपत्यकासहित पहाडी भूभागको मौसम बदली रहने

काठमाडौँ । फागुन २७, अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागको केही क्षेत्रमा पानी परिरहेको छ ।
पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले केही ठाउँमा मेघ गर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि मध्ययम खालको हिमपात भैरहेको छ ।
आज राति पनि देशका पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भएर केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले विकसित प्रणालीका कारण आज मध्यपहाड र त्यो भन्दा उत्तरतर्फ असिनापानी, हावाहुरी र चट्याङ र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । यो प्रणाली भोलिसम्म पूर्वी र सोमबारसम्म पश्चिमी क्षेत्रमा फैलने उहाँले बताउनुभयो ।