कुलमान घिसिङले सबैलाई बिजुली गाडी प्रयोग गर्न आह्वान

सहयात्रा टिभी

काठमाडौँ । फागुन २९, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गाडी प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

सोमवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले बिजुली गाडी प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको हो ।

उहाँले बिजुलीमा गरिएको लगानी सँगसँगै बिजुली खपत पनि बढाउने कार्ययोजना रहेकाले त्यहीअनुरूप बिजुली गाडीहरू आइरहेका बताउनु भयो ।

उहाँले पेट्रोल तथा डिजलबाट चल्ने गाडीहरूभन्दा बिजुलीबाट चल्ने गाडी कैयौँ गुणा सस्तो पर्ने बताउनुभयो । घिसिङले बिजुलीको गाडीको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै बिजुली गाडी प्रयोग गर्नुको फाइदामात्रै भएको बताउनुभयो । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले बिजुली गाडी नै उपयुक्त भएको उहाँले बताउनुभयो ।

बिजुली स्कुटरमा प्रतिकिलोमिटर २५ पैसादेखि ३० पैसा खर्च लाग्छ । जबकि पेट्रोल, डिजलबाट चल्ने स्कुटरमा प्रतिकिलोमिटर १०-१२ रुपैयाँ खर्च हुन्छ । त्यस्तै बिजुली गाडीमा प्रतिकिलोमिटर खर्च एक रुपैयाँभन्दा कम छ, ६० पैसादेखि ९० पैसाको हाराहारीमा ।

जबकि पेट्रोल, डिजलबाट चल्ने गाडीमा प्रतिकिलोमिटर १५-२० रुपैयाँ खर्च पर्छ । बिजुली गाडीमा मर्मत खर्च पनि निकै कम हुन्छ । बिजुली गाडीको प्रयोगले प्रदूषण पनि घट्छ ।

कार्यकारी निर्देशक घिसिङले नेपालमा बर्खायाममा पर्याप्त बिजुली रहेको भन्दै आउँदो दुई वर्षभित्रमा हिउँदयाममा पनि बिजुली पुग्ने स्थिति हुने बताउनुभयो ।

 

प्रकाशित : 13 March, 2023

प्रतिक्रिया दिनुहोस्