चिनियाँ संसदले आर्थिक र सैन्य रूपमा अझै शक्तिशाली बनाउने नीति पारित
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । फागुन २९, चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसको १४ औँ अधिवेशनले मुलुकलाई आर्थिक र सैन्य रूपमा शक्तिशाली बनाउने नीति पारित गरेको छ ।
राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकालको अनुमोदन र नयाँ प्रधानमन्त्री घोषणा गरेको चिनियाँ संसदले मुलुकलाई आर्थिक र सैन्य रूपमा अझै शक्तिशाली बनाउने नीति पारित गरेको हो ।
संसदीय अधिवेशनको समापनपूर्व बोल्दै राष्ट्रपति सी जिनपिङले सुरक्षा विकासको पहिलो आधार रहेको बताए ।
यस्तै समृद्धिका लागि स्थिरता अनिवार्य शर्त रहेको भन्दै उनले राष्ट्रको स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि रक्षा प्रणालीमा नयाँ आविष्कार र थप आधुनिकता आवश्यक रहेको धारणा राखे ।
सी जिनपिङ चीनलाई सबैभन्दा धेरै कार्यकाल नेतृत्व गर्ने माओपछिका दोस्रो नेता हुन् । संसदको अधिवेशनबाट उनले आफ्ना विश्वासपात्रलाई विभिन्न पद दिएका छन् । सीले ली छ्याङलाई प्रधानमन्त्री घोषणा गरे ।
आफ्नो तेस्रो कार्यकालमा सहयोग गर्ने उच्चपदस्थ व्यक्ति छनौट गरे । समग्र चीन राज्यपरिषद्बाट सीको नीति अनुसार शासित हुन्छ, त्यहाँ १० जना हुन्छन् ।
जसले प्रान्तका प्रशासनदेखि संघीय २६ मन्त्रालयलाई निर्देशन गर्छन् । राज्य परिषद्मा छनौट भएका सबै व्यक्ति सीका विश्वासपात्र हुन् । तेस्रो कार्यकालमा आइपुग्दा उनले पूर्व राष्ट्रपति हु जिन ताओ र युथ लिग निकट सबैलाई पन्छाएका छन् ।