लोपोन्मुख डङ्गर प्रजातीका गिद्धको मर्ने संख्या ६ पुग्यो

काठमाडौँ । फागुन ३०, पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या ६ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ ।
मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका-३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र आसपास केरुङ्गे खोला नजिकै मृत अवस्थामा गिद्धहरु फेला परेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।
गिद्ध मरेको खबर पाएलगत्तै घटनास्थलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका चरा विशेषज्ञ चिकित्सक डा विकल्प कार्कीको नेतृत्वमा प्राविधिकको टोली पुगेर बिरामी गिद्धको प्राथमिक उपचार गरेको थियो ।
प्राथमिक उपचारपछि बिरामी गिद्धलाई जटायु रेष्टुराँमा ल्याएर थप उपचार गरिएको र गिद्धको स्वास्थ्यमा उल्लेखीय सुधार आएको डाक्टर कार्कीले बताए । मरेका गिद्धको पोस्टर्माटम गर्दा पेटमा स्यालको सिनो भेटिएको थियो ।
गत शनिबार मात्रै जटायु रेष्टुराँबाट चितवन राष्ट्रिय निकुन्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्किएका १० वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको थियो ।
संरक्षणको क्षेत्रमा उदाहरणीय काम हुँदै गर्दा गिद्ध मरेको खबर सार्वजनिक भएपछि संरक्षणकर्मीको लागि चिन्ताको विषय भएको छ । यस क्षेत्रमा नौ प्रजातीका गिद्ध पाइन्छन् ।