केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि काठमाडौंका सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा लागु

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २, काठमाडौं महानगरपालिकाका सबै वडामा आज बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ ।

नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् ।

सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको थियो । सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ ।

त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन् । तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने कामपाको भनाइ छ । बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ ।

सेवा प्रदान गर्नका लागि हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ । कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्नेछ ।

सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ ।

सेवाग्राहीको तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाका बारेमा मौखिक वा लिखित जानकारी दिनु सेवाको मुख्य उद्देश्य रहेको बताइएको छ ।

 

प्रकाशित : 16 March, 2023

प्रतिक्रिया दिनुहोस्